मोरङ- जिल्ला अदातल मोरङले उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या आरोपमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ। यस्तै अर्का एक जनालाई भने तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ।
हत्या आरोपका अभियुक्त मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका रिकेश सिवा भन्ने मेहरमान दर्जीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। यस्तै बास्तोला मृत भेटिएको होटलका संचालक उर्लाबारी नगरपालिका-९ का कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए।
बास्तोला हत्या आरोपमा मुद्दा दर्ता भएका चार जना प्रतिवादी अझसम्म फरार छन्। फरार अभियुक्तका हकमा मुद्दामा हुने फैसलाको पूर्णपाठ आएपछि मात्र थाहा हुने खड्काले बताए। बास्तोला हत्याको आरोपमा फरार अभियुक्तहरूमा उर्लाबारी नगरपालिका-६ प्रगतिटोलका सुदीप परियार र राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का दीपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी-६ का ६० वर्षीय रमेश गिरी छन्।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालत मोरङमा बास्तोलाको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
मृतक प्रवीणकी बहिनी सदीक्षा बास्तोलाले गत आइतबार इलाका प्रहरी कार्यालयभित्रैबाट प्रहरीले हत्यारा लुकाउन चलखेल गरेको आरोप लगाउँदै फेसबुक लाइभ गरेपछि यो घटना एकाएक चर्चामा आएको थियो। दुई महिनासम्म गुपचुप रहेको बास्तोलाको रहस्यमय मृत्युको घटना यसपछि चर्चामा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।