काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यसअघि दर्ता गराएको अविश्वास प्रस्तावलाई अन्य दलहरूसँग छलफल गरेर अघि बढाउने भएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा आवद्ध सांसदहरूले पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
सोही प्रस्ताव अब अन्य दलसँग समेत छलफल गरेर अघि बढाइने प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले नेपाल लाइभलाई बताए। ‘यसअघि पेश भएको अविश्वास प्रस्ताव अरु दलसँग छलफल परामर्श गरेर अघि बढाइने हो। अहिले पेश भएको प्रस्ताव फिर्ता लिने होइन’ खनालले भने, ‘अविश्वास प्रस्तावका विषयमा कांग्रेस-जसपा लगायतका दलहरुसँग छलफल गरेर टुंगोमा पुर्याउँछौं।’
सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुन:स्थापनापछि नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा लिएको थियो। तर, अहिले ओलीले अविश्वास प्रस्ताव फेस गरेर जाने बताउँदै आएका छन्। ओलीविरुद्ध मोर्चाबन्दी बलियो बनाउन प्रचण्ड–माधव पक्षले अन्य दलहरुसँग छलफललाई तीब्रता दिएका छन्।
प्रतिनिधि सभा बैठक फागुन २३ गतेका लागि आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।