काठमाडाैं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभा विघटन असंवैधानिक भनि सर्वाेच्च अदालतले फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नाङ्गै भएको तर, लुगा लगाएको भ्रममा हिँडेको टिप्पणी गरेका छन्।
‘केपी शर्मा ओली नाङ्गै भइसक्नु भयो। अझै पनि लुगा लाएर हिँडेको भ्रम पाल्दै र छर्दै हिड्नुहुन्छ’, दाहालले भने, ‘सर्वोच्चको फैसलापछि पाहा पछारिएझैं पछारिँदा पनि जित भयो भनेर हिँड्नु भएको छ।’
संविधान सिध्याउन गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चले उल्टाएपछि अलिकति पनि नैतिकता भएको भए राजीनामा दिनुपर्ने दाहालको सुझाव छ। ‘नैतिकता भएको मान्छे हो भने आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्ने होइन?’ सोमबार काठमाडाैंमा आयोजित कार्यक्रममा दाहालले भने, ‘यसअघि पनि यस्ता नैतिकता त देखिएका थिए। तर, ओली त झन मैले जिते झैँ गर्नु भएको छ। यो कस्तो हो? हारेपछि जितेको भन्दा बलियो भइयो रे।’
ओलीसँग नैतिकताको खडेर परेको भन्दै दाहालले ओली ध्वस्त नभएसम्म बुद्धि पलाउने नदेखिएको बताए। अबको संसदको अधिवेशनपछि नयाँ सरकारका गठनको प्रक्रिया सुरु हुने पनि दाहालको भनाइ छ।
‘मैलै सर्वोच्चको फैसला भएकै दिन राजीनामा दिनुस् भनेको थिएँ तर, उहाँ मैले भनेको भन्दा उल्टो गर्दै हिँड्नु भएको छ’, दाहालले भने, ‘पूर्ण रुपमा पतन नभएसम्म प्रतिगामी बर्बर गर्न छोड्दैन भने झैँ ओली यही पात्रको रुपमा उभिएको देखिएको छ।’
केपी ओलीको सबैभन्दा ठूलो समस्या भनेको सत्ताका लागि जे पनि सम्झौता गर्ने तर, प्राप्त भएपछि कार्यान्वयन नगर्ने भएको दाहालले आरोप लगाए। बेइमानी, जालझेल र षडयन्त्र गर्ने ओलीको पद्धति भएको दाहालको आरोप छ।
ओलीले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदको बहुमतलाई लत्याउदै संविधान खारेज गर्न प्रतिनिधि सभा विघटन गरेको प्रचण्डको दाबी छ।
अदालतप्रति भरोसा र दुई महिनाको आन्दोलनले प्रतिनिधि सभा र संविधान बचाएको उनको भनाइ छ।
‘ओली अहिले पार्टी सदस्य पनि हुनुहुन्न ’ दाहालले भने ‘अनि कसरी सरकार दम्भका साथ चलाउन मिल्छ। सर्वोच्चको फैसलापछि एकछिन पनि बस्न लायक हुनुहुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।