काठमाडौं– अचेल गीत ‘भावना’ कम ‘संवाद’ बढी लाग्छन्, दृष्यमा कला मिसाउन नसक्ने फिल्म निर्देशकले बनाएको फिल्म जस्तै। धेरै गीतहरु रमाइला त हुन्छन् तर दोहोर्याएर सुन्न कि सार्वजनिक बस चढ्नुपर्छ कि पार्टीमा पुग्नुपर्छ। आफैंले दोहोर्याएर त मन लागे पो सुन्नु?
मानवीय संवेदनाको भित्री तह छुने गीत सुन्न त अब पुष्पन प्रधानलाई नै कुर्नुपर्ने अवस्था आउन थाल्यो। किनभने धेरै नेपाली संगीतकर्मी त ‘भाइरल’ हुने भाइरसबाट संक्रमित छन्। त्यसविरुद्ध खोप नभएकाले तत्काल संक्रमणमुक्त हुने आशा पनि छैन।
यो अवस्थालाई केही दिनअघि गायक सन्तोष लामाले गीत ‘शब्द’मार्फत चित्रण गरेका छन्। तर चित्रण अपेक्षित कलात्मक नलाग्न सक्छ!
आइतबार मात्रै सार्वजनिक प्रधानको नयाँ गीत ‘काली’ सुनेपछि गीतलाई गीतकै रुपमा प्रस्तुत गर्न रुचाउने कलाकार अझै रहेछन् भन्ने महसुस हुन्छ। जुन कुरालाई सिधै व्यक्त गर्न सकिँदैन, त्यसलाई काव्यकलाबाट प्रस्तुत गर्नुपर्छ भन्ने चेत जिउँदो राख्नै मुश्किल पर्ने समय जो छ।
यसअघि ‘बाबुको जुंगो’, ‘पन्छी’, ‘ठूल्दाइ’जस्ता गीतबाट उनले आफूलाई प्रमाणित गरिसकेका हुन्। त्यसैले उनीमाथि एक खालको अपेक्षा हुनु स्वभाविक हो। नयाँ गीतबाट त्यो अपेक्षा टुट्न दिएनन्।
हरेकलाई महसुस भएको तर सजिलै व्यक्त गर्न नसक्ने विषय र अवस्थालाई लिएर उनी गीत बनाउँछन्। त्यही क्रमको अर्को उपक्रम ‘काली’ हो।
सबैलाई थाहै छ, मान्छे पीडाको पराकाष्टामा पुग्यो भने आफूलाई व्यक्त गर्न सक्दैन। तर महसुस पुष्पन प्रधान मात्रै गर्न सक्छन्। ‘काली’को सबैभन्दा सुन्दर पक्ष नै यही हो कि जसलाई चोटले रन्थन्याएको छ, ऊ बोल्दैन। वास्तविक जीवनमा पनि त यस्तै हुन्छ नि, हैन! प्रायः सर्जक यहीँ चुक्छन् र पीडितलाई भटाभट दुःखका ‘डायलग’ बोल्न लगाउँछन्।
असीम दुःख साट्न हरेकसँग कोही न कोही अति निकटस्थ हुन्छ। ऊ अरु बेला वास्तामा पर्दैन तर अतिसय दुःख र असाध्यै खुसीमा सम्झिइन्छ। यसैबाट सुरु हुन्छ, गायक प्रधानको यो गीति कथा।
प्रेम–वियोगको गीतलाई साथी–संयोगको बनाउने उनको ‘आइडिया’ले हरेकलाई भुतुक्क बनाउन सक्छ!
प्रेमी अनपेक्षित रुपमा टाढिँदा एक प्रेमिकालाई लाग्छः
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
तिम्ले बिर्स्यौ कसरी यही अचम्म लाग्छ
प्रेम गर्नु र आकर्षित गर्नु फरक कुरा हुन्। जस्तोः गर्नेले स्वभाविक कुरा गर्छ। सिधा कुरा गर्छ। आकर्षित गर्नेले नाटकीय कुरा गर्छ। वाचा गर्छ। भन्छन् नि- जुनतारा टिप्ने कुरा। हो, त्यस्तै।
आकर्षित गरेर मायाजालमा पार्ने तर चटक्कै छाडेर जानेको कुरा उनी गीतमार्फत यसरी प्रस्तुत गर्छन्ः
दिमागै खुस्क्यो भने बिर्सुंला तिमीलाई
तिमीविना यो जिन्दगी नै सोच्नु छैन मलाई
गहिरो पीडामा परेको मान्छेलाई ‘जोक’ भनेर वा काउकुती लगाएर हँसाएको, भारीभरकम आश्वासन दिएर र अनेक उदाहरण दिएर भुलाउन खोजेका दृष्य बग्रल्ती भेटिन्छन्।
गहिरो चोट परेको मान्छे यी उपायबाट दुःख बाहिर निस्केको कहिल्यै भेटिएको छ त? त्यसैले त भन्छन् नि, दुःखमा हँसाएर होइन, रोएर मन हल्का हुन्छ। अझै ऊसँगै दुःखी भइदिँदा ढाडस मिल्छ। हो, त्यही यथार्थ यो गीतमा प्रधाननले आफ्नो कथा र अवधारणामार्फत प्रस्तुत गरेका छन्।
सबैभन्दा ठूलो ‘मायाप्रेम’ ठान्ने गल्ती हामीले जीवनमा पटक-पटक गरिरहन्छौं। त्योभन्दा पनि सम्बन्धहरु छन्। व्यावहारिक जीवनमा सम्बन्धका अनेक आयाम छन्। सम्बन्ध अनेक गहिराइ छन्। आफन्तसँगको प्रेमको आयतन कति हुन्छ? मित्रसँगको प्रेमको परिधि कति होला? साथीसंगीको प्रेम जोख्ने तुलो कहाँ बनेको छ र?
यो गीत हेरेपछि प्रेमलाई अन्तिम आत्मीयता सम्झिइने स्वभावमाथि ठूलो झड्का लाग्छ। प्रधानले संवादमा नउतारेर र गीमार्फत नभनेर दृष्यमा बारम्बार भनिरहन्छन्, मायाप्रेमभन्दा माथि पनि सम्बन्धहरु हुन्छन्।
कहिल्यै छाड्दिनँ भन्नेहरु टाढिन सक्छन्, कहिल्यै साख्यै नलागेकाहरु जीवनको कठिन समयमा साथै हुन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।