काठमाडौं- इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आइएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न आइएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारीलाई चयन गरेको छ।
त्यस्तै, संस्थाको महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसुदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्र निर्वाचित भएका छन्। सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवास अर्याल चयन भएका छन्।
आइएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन्। नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आइएई नेपाल क्रियाशील छ।
सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेशालाई व्यवस्थित ढंगले अगाडि बढाउनमा आइएईले नेतृत्व गर्ने र यसमा विभिन्न कम्पनीका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सम्भव हुने धारणा सहभागीहरुले राखेका थिए।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का भाइस चान्सलर सुनिलबाबु श्रेष्ठ, युनेस्को नेसनल कमिसन नेपालका डेपुटी सेक्रेटरी बाबुराम अधिकारी, इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, राष्ट्रिय शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र काठमाडौं युनिभर्सिटीका स्टुडेन्ट वेलफेयरका डाइरेक्टर डा. बिमप्रसाद श्रेष्ठले अटोमोटिभ इन्जिनियरहरुले नेपाली सडकलाई सुरक्षित राख्नका लागि खेल्नु पर्ने भूमिका र आफूहरुले गर्न सक्ने सहयोगका वारेमा चर्चा गरेका थिए।
आइएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन्। त्यसैगरी अन्य विभिन्न संस्थासँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ। इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपाल (आइएई), नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डष्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेशागत संस्था हो।
यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, युएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोन जस्ता संघ र महासंघसँग समेत बिगत लामो समय देखि सहकार्य गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।