काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भन्दै गएको माघ २६ गते कमिटी गठन गर्यो। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुजी पन्त, वर्षमान पुन र लिलामणि पोखरेल रहेको ८ सदस्यीय कमिटी घोषणा भयो। आवश्यकता अनुसार अरु सदस्य पनि थप गर्दै जाने निर्णय समेत भएको भयो।
प्रतिवद्धतापत्र पत्र लेखन समिति घोषणा भएको पनि २० दिन पुगिसक्यो तर प्रतिवद्धतापत्र पत्र अझै सार्वजनिक भएको छैन। समितिको विषयवस्तुमा केन्द्रित भई अहिलेसम्म छलफल समेत नभएको एक नेताले बताए। ‘प्रतिवद्धता पत्र लेखनका लागि ८ सदस्यीय कमिटी घोषणा भयो। अहिलेसम्म एक पटक बैठक बसेको छैन,’ ती नेताले भने, ‘खै कहिले प्रतिवद्धता पत्र सार्वजनिक हुने हो थाहा छैन।’
यस्तै प्रतिवद्धतता पत्र लेखन समितिका सदस्य एवं स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समेत यस विषयमा अनविज्ञता प्रकट गरे। ‘प्रतिवद्धतापत्र लेख्ने भन्ने थियो। त्यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा धेरै थाहा छैन,’ पाण्डेले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षलाई प्रतिवद्धतापत्र सार्वजनिक गर्न आग्रह गरिएको थियो। ओलीले असंवैधानिक कदम चालेर जनतालाई दु:ख दिएपछि प्रचण्ड-माधव पक्षको जनतालाई कन्भिन्स गर्न आग्रह गरिएको थियो। दललाई साथ दिन नागरिक समाज, लेखक, बुद्धिजीवी, कानुन विद्, साहित्यकार, पत्रकार सडकमा उत्रिएर विरोध जनाए। उनीहरुले ओलीको नियति दोहोर्या,उँदैनौं भनेरै प्रतिवद्धता जनाउन स्वेतपत्र जारी गर्नुपर्ने दबाब दिए।
यस्तै प्रचण्ड-माधवले बोलाएको सम्पादकसँगको छलफलमा उनीहरुले पनि स्वेतपत्र जारी गर्न दबाब दिए। आमजनतामा प्रचण्ड माधव पक्षको पनि क्षवि राम्रो नभएकाले स्वेतपत्र जारी गरेर विश्वास दिलाउनुपर्ने सुझाव दिइएको थियो। एकपछि अर्को गर्दै दबाब बढ्दै गएपछि स्वेतपत्र नभएर प्रतिवद्धता पत्र जारी गर्ने भनिएको थियो। तर आफूले प्रतिवद्धतता गरेको विषयमा प्रचण्ड–माधव पक्ष चुपचाप बसेको छ।
प्रचण्डले ओलीलाई आरोपित गरेपछि प्रतिवद्धता सार्वजनिक गर्न दबाब
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई गएको कात्तिक २८ गते सचिवालय बैठकमा प्रतिवेदन पेस गरे। उनले ओलीलाई लक्षित गर्दै सरकारले गरेका भ्रष्टाचार, अनियमितताको आरोप लगाएको विषयलाई समग्र रुपमा समेटेर १९ पृष्ठको प्रतिवेदन पेस गरे। त्यो प्रतिवेदन प्रचण्ड–माधव पक्षले छापेर नेता-कार्यकर्ता र आमजनतालाई पठाए। यस विषयलाई लिएर प्रचण्ड–माधव खेमा एकातिर ओली पक्ष अर्कोतिर भएरर विभाजित भए।
आफ्नै पार्टीका अर्का अध्यक्षले सरकारले गरेका गतिविधिलाई यसरी सार्वजनिक गर्न नमिल्ने भन्दै ओली पक्ष निकै चिढियो। त्यही प्रतिवेदन अन्तिममा पार्टीं विभाजनको ‘टर्निङ पोइन्ट’ बन्न पुगेको नेताहरु बताउँछन्।
यसरी ओली सरकारले गरेका नराम्रा कामको प्रतिवेदन बनाएर सार्वजनिक गर्नेले आफूले पनि स्वेतपत्र सार्वजनिक गर्नुपर्ने नागरिक समाज, लेखक बुद्धिजीवी, पत्रकार लगायतले आवाज उठाएका थिए। स्वेतपत्र शब्द संकुचित हुने भएपछि प्रतिवद्धतता पत्र सार्वजनिक गर्न थालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।