काठमाडौं– बृहत् नागरिक आन्दोलनले आइतबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ। बिहान ११ बजेलाई घेराउ कार्यक्रम तय गरिएको हो।
बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गर्न लागिएको हो।
बालाजुमा अदालतको अन्तरकालीन आदेश उल्लंघन गर्दै जनताको घर भत्काउने कार्य जारी राखिएको छ। त्यसको विरोध गर्ने अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गर्ने गरिरहेको छ।
गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका छन्। शुक्रबार मात्रै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका थिए।
त्यस्तै, कमलपोखरीमा पनि काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाइरहेको छ। पोखरीको पानी सुकाएर त्यहाँ बनाउन लगाइएको कंक्रिटको कमलको फूल लगायतका संरचना पनि शुक्रबारै अभियन्ताहरुले भत्काइदिएका थिए।
अनावश्यक रुपमा कंक्रिटको संरचना बनाएर पोखरीको मौलिकता नष्ट गर्न लागिएकोमा अभियन्ताहरुले आक्रोश व्यक्त गरिरहेका छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि गठन भएको बृहत् नागरिक आन्दोलनले विभिन्न क्षेत्रमा प्रतिगमन भइरहेको भन्दै प्रदर्शन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।