काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताको बहुदलीय जनवाद र एमाले विघटन गर्ने कार्यमा पहिलो हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी गरेका छन्।
पार्टी एकता गर्दा ओलीले एमाले विघटन गर्ने हस्ताक्षर गरेको भन्दै उनले आफू र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरे।
दाहालले ओली कम्युनिष्ट आन्दोलन सक्नेतर्फ लागेको आरोप लगाए। उनले पार्टी एकता गर्दा ओली आफूलाई 'कम्युनिष्ट आन्दोलन सम्हाल्ने अरु नेता नभएर तपाईंलाई ल्याएको हो' भनेको स्मरण गरे।
‘यो पत्याउने कुरा त थिएन। तर, उनी पदमा पुग्न जे पनि भन्ने रहेछन् भन्ने देखियो’, दाहालले भने। ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएको तर, आफूले त्यसो हुन नदिएको दाहालको दाबी छ। ‘माधवसहित सबैलाई निमोठेर सक्ने र अनि प्रचण्डलाई सक्ने रणनीति ओलीको थियो’, दाहालले भने, ‘एकता भएको तीन महिनामै मैले यो कुरा बुझेको थिएँ। तत्कालै झगडा गर्न पनि भएन। आलोपालो भनेको एक दिनपनि मान्नु भएन। तरपनि म चुप लागेर बसेँ।’
ओली शकुनीको भूमिकामा छन्
पार्टी एकीकरण गर्दा पालैपालो अध्यक्ष र प्रधानमन्त्री चलाउने भनेपनि ओलीले अहिले एक र दुई नम्बर भन्दै गलत प्रचार गरेको दाबी गरे। ‘सहमति पालाना नर्गन, आफैं खान खाल फकाएको फकायै गर्नु भयो। ल होस् न त भनेर छोडिदिएँ’, दाहालले भने, ‘तर, अहिले आएर मलाई दोस्रो नम्बरको अध्यक्ष नै बनाए।’
ओलीले जेलमा बस्दा दुईवटा मात्र किताब दाहालको दाबी छ। ओलीलाई शकुनीको भूमिका खुब मन दाहालको टिप्पणी छ। ‘जेलमा ओलीले महाभारत र चाणक्य नीति मात्र पढेछन्’, दाहालले भने, ‘त्यही भएर शकुनी सबैभन्दा राम्रो पात्र उनका लागि। ओली अहिले त्यही भूमिकामा छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।