काठमाडौं- भारतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपालको सर्वोच्च अदालतको फैसला नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ। बिहीबार भारतीय विदेश मन्त्रालयले भर्चुअल रूपमा आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा (भिडियोको २० मिनेट २५ सेकेन्डदेखि २० मिनेट ५८ सेकेन्डसम्म) प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रतिक्रिया दिएका हुन्।
'नेपाल आफ्नै लोकतान्त्रिक संविधान र प्रक्रिया भएको देश भएकाले हामीले पहिले भनेजस्तै यो नेपालको आन्तरिक मामिला हो,' पत्रकारको जिज्ञासामा प्रवक्ता श्रीवास्तवले भने।
उनले पछिल्ला केही महिनायता नेपालको राजनीतिक दृश्यलाई नजिकबाट नियालिरहेको समेत बताएका छन्। 'नेपालको सर्वोच्च अदालतको २३ फेब्रुअरीमा गरेको फैसलाबारे जानकार छौँ। पछिल्ला केही महिनायता हामी नेपालको राजनीतिक दृश्यलाई नजिकबाट नियालिरहेका छौँ,' श्रीवास्तवले भनेका छन्।
मंगलबार नेपालको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।