काठमाडौं- नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले कसलाई प्रधानमन्त्री बनाउने भनेर स्पष्ट नीति बनाइनसकेको बताएका छन्। बुधबार सम्पन्न स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले 'फलानो'लाई बनाउने वा आफैं बन्ने भनेर नीति नबाएको बताएका हुन्।
'हामी चाहन्छौं, संविधानको प्रभावकारी कार्यान्वयन होस्। लोकतान्त्रिक अभ्यास अगाडि बढोस्। राजनीतिक स्थिरता सुनिश्चित होस्। त्यसका निम्ति हामी खुला ढंगले छलफल गर्न तयार छौं भनेर मात्रै हामीले भनिराखेका छौं', उनले भने।
उनले आफूहरुले प्रधानमन्त्री ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो भनेर भनिसकेको बताए। 'अहिलेसम्म उहाँले राजीनामा दिनुभएको छैन। तैपनि अब अदालतको फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यहाँबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ', उनले भने।
प्रतिगमनको विरुद्धमा आफूहरुले संयुक्त आन्दोलन गर्न चाहेको भए पनि कांग्रेसले निर्णय नलिएका कारण सम्भव नभएको बताए।
बुधबार नै प्रचण्ड र नेपाल तथा कांग्रेस सभापति देउवाबीच भएको भेटबारे उनले भने, 'अब अहिले प्रतिनिधि सभा पुनःस्थापित भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने, यो संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको अभ्यासको दिशातिर अगाडि बढ्ने र देशलाई राजनीतिक स्थिरताकै दिशातिर अगाडि बढाउनका निम्ति हामी मिलेर जानुपर्छ, लोकतन्त्रवादी सबै शक्तिहरु, संविधानको रक्षाका प्रश्नमा एकताबद्ध भएका सबै शक्तिहरु फेरि पनि मिलेर जानुपर्छ भन्ने बारेमा सामान्य छलफल भयो।'
स्थायी कमिटी बैठकले प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि यस प्रकारका गतिविधिहरुका विरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा जोड दिएको दिएको श्रेष्ठको भनाइ छ।
सर्वोच्चको फैसलाले देशलाई प्रतिगामी षडयन्त्रको ठूलो चक्रव्यूहमा र राजनीतिक संकटको अध्याँरो सुरुङतिर लैजाने खतरालाई बचाउन ठूलो योगदान पुर्याएको बैठकको निष्कर्ष छ। साथै, नेकपाको यो पक्षले प्रतिनिधि सभा विघटनका विरुद्ध सार्वजनिक गरिएको संघर्षका कार्यक्रम तत्काललाई रोक्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।