काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गल्हत्याएर निकाल्ने चेतावनी दिएकी छन्।
प्रचण्ड–माधव पक्षले बुधबार काठमाडौंमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान भए ओलीले तत्काल राजीनामा दिनुपर्ने बताइन्।
सर्वोच्च अदालतले निर्णय गर्ने बित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म नआएको भन्दै उनले नैतिकताको आधारमा राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन्।
‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुस्वप्ना हुनेछ। १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बस्ने छ। र, त्यहाँबाट गलहत्याएर फालिनेछ’, उनले भनिन्, ‘म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरूले छिटो भन्दा छिटो ठाउँ खालि गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ।’
नेतृ भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राजीनामा दिन आग्रह गरिन्। ‘बिहान पशुपतिनाथको जात्रा देखेको थिएँ मैले। त्यहाँ क्षमा याचना गर्नुभन्दा अब जनताका बीचमा क्षमा याचना गरेर हामीले छोडेम भनेर फैसला गरे हुन्छ’, भुसालले भनिन्।
प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टिका लगाउने काम भएको भुसालको टिप्पणी छ। ‘यो संविधानको रक्षा गर्न नसक्ने असक्षमहले, प्रतिगामीहरूले कमसेकम अलिकति पनि नैतिकता छ भने, अलिकति मानवीय स्वाभिमान छ भने मैले हिजै राजीनामा देलान् भनेको थिएँ’, उनले भनिन्, ‘तर, एक/दुई घण्टापछि उनैका प्रवक्ता द्वारा सुनेँ, नदिने रे।’
नेतृ भुसालले जनताको अधिकारलाई सुरक्षा गर्न, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतले खेलेको भूमिकाप्रति प्रशंसा समेत गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।