काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक सुरु भएको छ। बैठक दलको कार्यालय सिंहदरबारमा जारी छ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यो समूह आन्दोलित थियो।
पुस ५ पछि नै नेकपा राजनीतिक रुपमा विभाजित भइसकेको छ। नेकपाको अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन्।
प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि स्थायी कमिटीको अनौपचारिक बैठक गरेको थियो। स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यबारे छलफल गरेका थिए।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरेको थियो। सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन समेत फैसला सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।