भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। उनले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन चेतावनी समेत दिएका छन्।
बुधबार सिटिइभिटीको ३३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कायरले मात्र राजीनामा दिने बताए। ‘राजीनामा दिने हामी कायर हो?, कुनैपनि हालतमा राजीनामा आउँदैन। प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ। संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्नुहुन्छ। हामी फेस गर्छौं’, उनले भने।
मन्त्री श्रेष्ठले अदालतले गरेको निर्णयले झन् विवाद बढाएको टिप्प्णी गरे। ‘हामी जनताबाट आएका हौं, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्याङ्कन गर्नेछन्’, उनले भने।
संसद पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको टिप्पणी गर्दै उनले अबको प्रधानमन्त्री पनि केपी ओली नै रहेको जिकिर गरे। ओलीको विकल्प नभएको उनको दाबी छ।
‘सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुँदैन। अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ’, मन्त्री श्रेष्ठले भने।
मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले जन्मदिन मनाइरहेका बेला अदालतको फैसला आउनु गलत भएको समेत बताए। ‘हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौं। प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ। अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ’, उनले भने, ‘हामी मैदानमा उत्रिएका छौं। गोल गरेरै देखाउनेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।