काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षले खुसियाली र्याली निकालेको छ।
अदालतको निर्णय आएको भोलिपल्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले खुसियाली र्याली निकालेको हो।
काठमाडाैंको शान्तिबाटिकाबाट र्याली निकालिएको हो। शान्तिबाटीबाट सुरु भएको र्याली भोटाहिटी, जमल, त्रिचन्द्र कलेज, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः शान्तिबाटीका पुग्नेछ।
र्यालीलाई नेकपा नेताहरू अमृत बोहरा, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश साह, हितमान शाक्य, देव गुरुङ, दीनानाथ शर्मालगायतले अगुवाइ गरेका छन्। सहभागीले अबिर जात्रा गरेका छन् भने अनुहारमा सूर्य र हँसिया हथौडाको पेन्टिङ गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्ष निरन्तर आन्दोलनमा थियो। यससँगै नेकपा राजनीतिक रुपमा विभाजित भएको छ। नेकपाको अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन्।
मंगलबार सर्वोच्च अदालतले विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन फैसला गरेको थियो।
तस्बिरहरू:










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।