काठमाडौं- सोमबार ३२.६७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि दोहोरो अंकले घटेको छ। तीव्र उतारचढावबीच मंगलबार २१.१६ अंकले घटेर परिसूचक २५८६.५१ बिन्दुमा कायम भएको छ। कारोबार खुल्ने हुनेबित्तिकै ओरालो लाग्न सुरु भएको परिसूचक आधा घण्टाभित्रै ८२ अंकसम्म झरेरको थियो।
मंगलबार २०५ वटा कम्पनीको १ करोड ७७ लाख १४ हजार कित्ता सेयर ८३ हजार ३५७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समूह २६.७३ अंकले बढ्नुबाहेक अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ९६ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ७.७२, होटेल समूह ३१.३८, विकास बैंक समूह ३०.२७, जलविद्युत समूह १२.४७, वित्त समूह ७.०१, निर्जीवन बिमा समूह ५२.०४, लघुवित्त समूह ६.३२, जीवन बिमा समूह २०.२ र अन्य समूह ५१.११ अंकले घटेको छ।
सबैभन्दा बढी कारोबार भएका कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), माथिल्लो तामाकोशी र नबिल बैंक छन्। यी कम्पनीको क्रमशः ७३ करोड ९४ लाख, ४३ करोड ३९ लाख, र ३७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा पनि निफ्रा र तामाकोशी र पहिलो नम्बरमा देखिएका छन्। निफ्राको १० लाख ८१ हजार ४ सय कित्ता सेयर किनबेच भएको छ भने माथिल्लो तामाकोशीको ७ लाख ५३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
लगातार ७ दिनसम्म पोजेटिभ सर्किट लागेको निफ्रामा मंगलबार भने नेगेटिभ सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।