कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायालयलाई नधम्काएको दाबी गरेका छन्। केही दिनअघि विराटनगरबाट ‘संसद् पुनर्स्थापना गर्ने फैसला भएमा आन्दोलन हुन्छ’ भनेका प्रधानमन्त्री ओलीले सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू अदालत र न्यायालयप्रति विश्वास गर्ने बताएका हुन्।
‘स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तलाई मैले सदैव मानेको छु,’ ओलीले भने, ‘अदालतको निर्णय गलत हुन सक्दछ। त्यस्तो अवस्थामा पुनरावलोकन गर्न सकिन्छ। तर धम्की दिने काम कहिल्यै गरिँदैन।’ उनले दुई चार दिनमै प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला आउने दोहोर्याए।
'संसद पुनर्स्थापना नभए केहीलाई राजनीति सकिने चिन्ता बढेको होला,' प्रधानमन्त्री ओलीले भने, ‘तर हामीलाई त्यसो चिन्ता छैन, हाम्रो विकासको आन्दोलन जारी रहनेछ। मैले संसद् पुनर्स्थापना भएपनि विकासको आन्दोलन हुन्छ भनेको हुँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिए। उनले साढे २ वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मलाको हत्यामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका हुन्।
‘बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु,' उनले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।’
समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए।
‘केहीकेही फलहरु कुहिएर झर्छन्। झर्यो भनेर चिन्ता लिने होइन,' पार्टी विभाजनको सन्दर्भमा उनले भने, ‘छुट्टिएर गएकाहरुले भ्रम सिर्जना गर्ने र अलमलाउने काम गरिरहेका छन्। त्यसबाट सबै सचेत हुनुपर्छ।’
उनले सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए।
‘औद्योगिक क्षेत्रले यहाँका जनतालाई रोजगारी दिनेछ। यहाँका उद्योगले सीप विकास र तालिम, अनि रोजगारीको सिर्जना गर्नेछन्,’ उनले भने, ‘औद्योगिक क्षेत्र स्थापना भएपछि अन्य गतिविधि, आर्थिक गतिविधि र क्रियाकलाप बढ्ने छन्। लगानीको वातावरण बन्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।