काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सुदूर पश्चिम प्रदेशको कञ्चनपूर जिल्लामा बनाउन लागिएको यो औद्योगिक क्षेत्रमा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
आगामी ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो औद्योगिक क्षेत्रमा ९ अर्ब रुपैयाँ लागत हुने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा निर्माण गर्न लागिएको पहिलो औद्योगिक क्षेत्र हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार औद्योगिक क्षेत्र शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिनेछ। ६ महिनाभित्र उद्योगीलाई चाहिने सडक, विद्युत, पानीलगायत न्यूनतम पुर्वाधारहरु उपलब्ध गराइनेछ। त्यसपछि औद्योगिक क्षेत्र र उद्योगीहरुले सँगसँगै पूर्वाधारको काम अगाडि बढाउनेछन्।
औद्योगिक क्षेत्रभित्र उद्योग स्थापनाका लागि आशयपत्र माग गर्दा ३५० वटा आशयपत्र प्राप्त भईसकेको पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।
यो औद्योगिक क्षेत्रको पूर्वमा छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिममा दैजी तथा साजगाड खोला, उत्तरमा चुरे बनक्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती रहेको छ। यो क्षेत्रका औद्योगिक प्लटहरुमध्ये साना उद्योगका लागि २३ वटा, मझौला उद्योगका लागि ४४ वटा र ठूला उद्योगका लागि ३३ वटा प्लट छुट्याइएको छ।

के छन् सुविधा?
औद्योगिक क्षेत्रमा उद्योग संचालन गर्नेहरूका लागि न्यूनतम ५ वर्षको लागि जग्गाको भाडामा पूर्ण छुट उपलब्ध गराइनेछ। त्यसपछिको ५ वर्षसम्म आधा मात्र जग्गा भाडा लिइने र १० वर्षपछि मात्र पूर्ण रुपमा भाडादर कायम हुनेछ।
औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ, मिल मेसिनरी आयात गर्दा भन्सारमा लाग्ने बिलम्ब शुल्क नलाग्ने व्यवस्था गरिने जनाइएको छ।
त्यस्तै औद्योगिक क्षेत्रभित्रको जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगलाई कठिन परिरहेको अवस्थालाई मध्यनजर गर्दै कर्जा प्रवाह सरलीकरणमा पनि सहजीकरण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भनाइ छ। यसलाई बहुवर्षीय आयोजना घोषणा गर्न तथा बजेटको सुनिश्चितताका लागि कम्पनीले सरकारसँग प्रस्ताव पेश गरिसकेको जनाएको छ।
सरकारले अबलम्बन गरेको एकल बिन्दु सेवाकेन्द्र नीतिका आधारमा यस औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालयहरु पनि निर्माण गर्न मिल्ने गरी पूर्वाधार डिजाइन गरिएको छ। यो औद्योगिक क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २२ हजार व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।