काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा कायम भएको छ। गतसाता निरन्तर उकालो देखिएको नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन सामान्य अंकले बढेको थियो। तर दोस्रो दिन नाफा बुक गर्ने लगानीकर्ताको चाप बढेपछि परिसूचक दोहोरो अंकले घटेको हो।
सोमबार २०७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार कित्ता सेयर ७८ हजार ८५८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत र अन्य समूहबाहेक सबै समूहको उपसूचक घटेको छ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, नेपाल हाइड्रो लिमिटेड र माथिल्लो तामाकोशीको सेयर खरिदमा लगानीकर्ताको चाप देखिँदा जलविद्युत समूहको उपसूचक ४५.८५ अंकले बढेको छ। त्यस्तै अन्य समूहको उपसूचक २७.८६ अंकले बढेको छ।
सबैभन्दा बढी उपसूचक घट्नेमा जीवन बिमा समूह र निर्जीवन बिमा समूह रहेका छन। यी दुई समूहको उपसूचक क्रमशः ३५१.३४ र १०८.५१ अंकले घटेको छ। त्यस्तै बैंकिङ समूह ५२.५५, व्यापार समूह ९२.७२, होटेल समूह २१.१४, विकास बैंक समूह ६४.८५, वित्त समूह १३.७, उत्पादन समूह ५६.३३ र लघुवित्त समूह ५६.९५ अंकले घटेको छ।
सोमबार एनआइसी एसिया बैंकको सेयर सबैभन्दा धेरै ३८ करोड २४ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताले प्रतिकित्ता ५.५२ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।