काठमाडाैं– धितोपत्र दलाल (ब्रोकर) खाता भएका ३५ प्रतिशत लगानीकर्ताले मात्र पूँजीबजारको दोस्रो बजार अनलाइनमार्फत कारोबार गरिरहेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सार्वजनिक गरेको तथ्यांकअनुसार साढे ५ लाख सक्रिय ब्रोकर खाताहरु मध्ये १ लाख ९६ हजारले अनलाइमार्फत कारोबार गरिरहेका छन्।
यद्यपी अनलाइन कारोबारका खाता खोल्नेहरुको संख्या भने ३ लाख ७६ हजार भन्दा बढी छ। तर ती सबै खाता सक्रिय रुपमा संचालनमा नरहेको नेप्सेले जनाएको छ।
अहिले धितोपत्रको प्राथमिक बजार (आइपिओ) मा साढे १४ लाख लगानीकर्ता रहेपछि दोस्रो बजारमा भने त्यसको एक तिहाईले मात्र कारोबार गरिरहेका छन्।
त्यस्तै नेप्सेले पुँजीबजारको विस्तार र कारोबार प्रणाली लाई थप सहज बनाउनका लागि भन्दै लागु गरेको ‘पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली (नट्स) को प्रभावकारिता पनि बढ्दै गएको देखिएको छ।
नेप्सेले २०७५ कात्तिक २० गतेबाट नट्स प्रणालीको औपचारिक शुरुवात गरेको थियो। इन्टरनेटको माध्यामबाट संसारको जुनसुकै ठाउँबाट प्रणालीमा प्रवेश गरी धितोपत्रहरुको खरिद बिक्री आदेशबाट प्रविष्ट गरी वास्तविक समयमा कारोबार गर्न सकिने प्रणालीका रुपमा नट्स कार्यान्वयनमा ल्याइएको भएपनि यसको प्रभावकारिता अपेक्षाकृत भने देखिदैन।
नट्स संचालनको शुरुवाती दिनमा डाटा डिस्प्ले, लगानीकर्ताको युनिक क्लाइन्ट कोड (युसिसि) जेनेरेसन, केवाइसी अद्यावधिक, डिएनए लगइन, नयाँ सुचीकरण भएका कम्पनीको पहिलो दिनको कारोबारमा समस्या जस्ता कारण देखिएपनि अहिले त्यस्ता समस्या नरहेको नेप्सले दावी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।