काठमाडौं– धितोपत्रको दोस्रो बजारमा गतहप्ताबाट कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्यमा हरेक दिन ‘पोजेटिभ सर्किट’ लागिरहेको छ।
शुरुवाती कारोबार मूल्य ३४० रुपैयाँ कायम भएर फागुन २ गतेबाट दोस्रो बजारमा कारोबार भएको निफ्राको प्रतिसेयर मूल्य सोमबारसम्म ६६० रुपैयाँ पुगेको छ।
सोमबार दिउँसो १२ः३० बजे कम्पनीको ‘मार्केट डेफ्ट’ हेर्दा ११ लाख ८८ हजार ७७० कित्ता खरिदका लागि माग देखिएको छ भने बिक्री गर्न चाहनेको संख्या शून्य छ।
यसरी अस्वभाविक रुपमा सेयर खरिदमा देखिएको चाप अझै केहिदिन कायम रहँदा मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।
सूचीकृत सेयर संख्याको आधारमा हालसम्मकै सबैभन्दा ठूलो संस्था निफ्राको बजार पूँजीकरण सोमबारसम्ममा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबर पुगेको छ।
कूल २० करोड कित्ता सेयर सूचीकृत रहेको यो संस्थाले सर्वसाधारणका लागि ८ करोड कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गरेको थियो भने आइपिओ भरेका सबै १४ लाख ५० हजार जनाले सेयर पाएका थिए।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा पनि पछिल्ला दिनहरुमा निफ्रा अग्रस्थानमा देखिँदै आएको छ। यो साता कारोबारको पहिलो दिन आइतबार कम्पनीको ५३ करोड ८३ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सोमबार २५ करोड ८५ लाख रुपैयाँ बराबरको ३ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।