काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाएका छन्।
आइतबार पाँचौँ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताएका हुन्।
विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरूमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीको दाबी छ। पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीले टिप्पणी गरेका थिए।
‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समुहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौँ हामी, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्। कतिपयलाई आतंक छायो। विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले। देश त साच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो! पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने। अब विप्लव वार्ता गर्छु भन्दैछन्। केहीलाई छट्पटी भएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
देश, जनता र विकासप्रति इमान्दार भई योगदान गर्नुपर्ने पनि उनको भनाइ थियो। राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुन उनले आग्रह गरे।
प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गरेका थिए।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।