काठमाडौं- वैदेशिक व्यापार उच्च भएको महिना उपभोग्य र पुँजी निर्माणमा योगदान गर्ने वस्तुहरूको आयात भने घटेको छ। आर्थिक वर्षको पहिलो ७ महिनासम्म आइपुग्दा मूल्य अभिवृद्धि हुने वस्तुहरूको आयात भने बढेको छ।
भन्सार विभागले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा उपभोग्य वस्तुको आयात १३.९ प्रतिशतले घटेको छ। यो अवधिमा ९५ अर्ब ७२ करोड रूपैयाँको उपभोग्य वस्तु आयात भएको छ। गत आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ११ अर्ब १९ करोड रूपैयाँको उपभोग्य वस्तुको आयात भएको हो।
पुँजी निर्माणमा योगदान गर्ने वस्तुको आयात गत वर्षको समान अवधिको तुलनामा ४.५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो ७ महिनामा २ खर्ब ९७ अर्ब ७७ करोड रूपैयाँको पुँजी निर्माणमा योगदान दिने किसिमका वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको समान अवधिमा २ खर्ब ८४ अर्ब २२ करोड रूपैयाँको वस्तु आयात भएको छ।
मूल्य अभिवृद्धि हुने वस्तु तथा तिनका कच्चा पदार्थको आयातमा भने गत वर्षको तुलनामा वृद्धि देखिएको छ। गत वर्षको तुलनामा यो वर्ष ७.४ प्रतिशतले त्यस्ता वस्तुको आयात बढेको छ। चालु वर्षमा ४ खर्ब २३ अर्ब रूपैयाँका मूल्य अभिवृद्धि हुने वस्तु आयात भएको छ। जुन गत आर्थिक वर्षको समान अवधिमा ३ खर्ब ९४ अर्ब रूपैयाँ बराबरको थियो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि लकडाउन गर्दा बजारमा परेको असर विस्तारै कम हुन थालेको बताएका छन्। उनले अबका महिनामा वस्तुको माग र औद्योगिक उत्पादन बढ्दै जाँदा आयात पनि बढ्ने बताए।
'गत वर्षको अवस्थामा अझै पनि बजारबाट मा आउन थालेको छैन, जसका कारण उपभोग्य वस्तुको आयात कम नै छ,' उनले भने, 'निर्माण क्षेत्रमा सुधार भइरहेको छ, जसका कारण अब पुँजी निर्माणमा योगदान दिने वस्तुको माग पनि बढ्दै जानेछ।'
चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना अवधिमा मुलुकले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको हो।
माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ०.०१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा मुलुकले व्यहारेको व्यापार घाटाको तुलनामा यस वर्ष व्यहारेको घाटा भने ०.६६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले ७ खर्ब ३८ अर्ब ६८ करोड रुयैयाँ बराबर व्यापार घाटा व्यहारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।