काठमाडौं- प्रदेश २ का सांसदहरुले प्रदेशको समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदेश २ का सांसदहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटगरी प्रदेश २ को समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका सबै दलका सांसदले समृद्धिका लागि ‘तराई–मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै सञ्चालन गर्नुपर्नेमा जोड दिए।
‘तराई मधेश समृद्धिमा प्रधानमन्त्री अभियान’ नै सञ्चालन गर्न प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरिएको छ,' प्रदेश २ बाट राष्ट्रियसभाका सांसद सुमन प्याकुरेलले भने। उनले कृषि क्षेत्रको सुधार र चुरे संरक्षणमा जोड नदिए तराई, मधेशमा भयावह अवस्था सिर्जना हुनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाए।
पर्सा- १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवले नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाए। तटबन्ध निर्माणलाई तीव्रता दिएर बाढी र डुबान समस्या अन्त्य गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको सांसद यादवले बताए।
सांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले प्रदेश २ को विकासका लागि आफूले उच्च प्राथमिकता दिने बताएका थिए।
प्रधानमन्त्री ओलीले प्रदेश २ का सांसदहरुसँगको भेटबारे ट्विटमा लेखेका छन्, 'प्रदेश २ का सांसदहरूको सर्वदलीय प्रतिनिधि मण्डलसँग भेट हुँदा खुसी लाग्यो। शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ तथा डुबान समस्याको समाधानका लागि उहॉहरूले देखाउनु भएको अग्रसरताप्रति धन्यवाद। सरकारको नीति–कार्यक्रम र बजेट मार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन हुनेछन्।'
यसैगरी, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा अभिनन्दनमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।