फाइल तस्बिर कैलाली- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन्। आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको दाबी गरेका हुन्।
सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उनको भनाइ छ। 'प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउँदै हुनुहुन्छ,' उद्योगमन्त्री भट्टले भने, ''सुखी नेपाली समृद्ध नेपाल'को नारा कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको छ।'
९ अर्ब रुपैयाँको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाइ छ।
कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडि बढिरहेको जानकारी दिदैँ मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु गरिएको पनि बताए।
निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको उनको भनाइ छ। मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दाबी पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।