काठमाडौं–नेपाल सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज काठमाडौं आइपुग्दै छ । दिल्लीबाट दिउँसो एयर इन्डियाको विमानमार्फत खोप काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेकोमध्ये पहिलो चरणमा १० लाख डोज आज आउन लागेको हो ।
सरकारले फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समुहलाई खोप लगाइने बताइएको छ ।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुनेछ । बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले आगागी मार्चसम्म सबै लक्षित समूहलाई खोप लगाइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।