काठमाडौं- विघटित प्रतिनिधि सभाका सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी प्रदेश १ को प्रदेश सभा सदस्य उषाकला राई फेरि नेकपाको ओली समूहमा लागेका छन्।
प्रतिनिधि सभा विघटनपछि एकदिन ओली समूहमा खुलेका उनीहरू त्यसपछि प्रचण्ड–माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी हुने गरेको यो दम्पत्ति अन्ततः ओली समूहमा लाग्ने भएको हो। दुवैजना पूर्वएमाले हुन्।
आज विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभाबाट उषाकला औपचारिक रुपमा ओली खेमामा लाग्नेछिन्। तामाङ गएको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने खोटाङकी उषाकला प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।
केही समय कानुनमन्त्री बनेका तामाङ बंगादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि आलोचित बनेका थिए। आलोचना बढ्दै गएपछि उनले राजीनामा दिनुपरेको थियो।
ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले उषाकला आजको सभाबाटै आफ्नो समूहमा लाग्ने सम्भावना रहेको बताए। ‘अहिले हल्ला मात्र छ। फिक्स भएको छैन। तर, सम्भावना चाहिँ छ’, नेम्वाङले भने।
यता, राईले भने प्रचण्ड–माधव पक्षसँग पूर्वएमाले र जनताको बहुदलीय जनवादको लिगेसी नरहेकाले बस्न नसकिएको बताइन्। आफूहरू जबज मान्दै आएकोले ओली समूहमा फर्किनुपरेको उनले बताइन्। ओली समूहमा फर्किनुको अर्को कारण भने गाँजाखेती सम्बन्धी विधेयक रहेको उनको भनाइ छ।
गाँजाखेती गर्न पाउने विधेयक ल्याउन प्रधानमन्त्री ओली सकारात्मक रहेको र यस विषयमा समझदारी भएपछि ओलीसँगै रहने निर्णयमा पुगेको उनले बताइन्। यो दम्पत्तिले विगत लामो समयदेखि नेपालमा गाँजाखेती गर्न पाउनुपर्ने आवाज उठाउँदै आएको छ। तामाङले प्रतिनिधि सभामा गाँजाखेती सम्बन्धी गैरसरकारी विधेयक समेत दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।