काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पुनः दोहोर्याएका छन्। उनले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट गरेका छन्।
शनिबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले जिल्लाका नेताकार्यकर्ता र केन्द्रका नेतासँग आफ्नो उम्मेदवारीबारे निरन्तर छलफल गरेको बताए। सभापतिको उम्मेदवार बन्न जिल्ला भ्रमण गरिरहेकोबारे पत्रकारको प्रश्नमा उनले भने, 'सभापतिको उम्मेदवारी दिने मेरो चर्चाको कुरा मात्रै होइन। म सिरियस तरिकाले लागेको छु।'
चर्चाका लागि मात्रै उम्मेदवारीको कुरा नगरेको उनले बताए। सभापतिको प्रत्यासी हुने गरी केन्द्रका नेतासँग संवाद जारी राखेको पनि उनले प्रष्टाए।
पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्ने क्रममा कोइरालाले न्यायाधीशको अग्निपरीक्षाको समय आएको बताए।
प्रतिनिधि सभा पुनर्बहालीको विकल्प नरहेको उल्लेख गर्दै उनले भने, 'कदाचित् संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम सदर भए कुन धाराको आधारमा सदर गरिएको हो भनेर जनतालाई अदालतले प्रष्ट पार्नुपर्छ।' न्यायाधीशले विवेक गुमाउन नहुने उनको सुझाव थियो।
वैशाखमा निर्वाचन हुने परिस्थिति नरहेको बताउँदै कोइरालाले त्यसपछि संघियता पनि संकटमा पर्ने चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।