काठमाडाैं- प्रदेश २ का प्रमुख हटाइएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संसद विघटनको असंवैधानिक कदमपश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्ति आदि गर्न विल्कुलै नमिल्ने कांग्रेसको ठहर छ।
मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त परेपछि कांग्रेसले त्यसको बिरोध गरेको हो।
‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।