काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले संविधान कहिल्यै नमिच्ने दाबी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
प्रतिनिधि सभा विघटनको कार्य गैरसंवैधानिक भनेर आलोचना भइरहेको समयमा ओलीले आफू कठिन संघर्ष गरेर बनाएको संविधान नमिच्ने दाबी गरेका हुन्। ‘म यस अवसरमा सबैमा आग्रह गर्न चाहान्छु, आज अलमलिने बेला छैन। अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन र संविधान मिच्दैन र मिच्न दिँदैन’, ओलीले भने, ‘जनताको अभिमत भन्दा बाहिर जाँदैन र जान दिँदैन। सरकार भ्रष्टाचार गर्दैन। र, गर्न पनि दिँदैन।’ उनले सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्न प्रतिबद्ध रहेको दाबी गरे।
राष्ट्रलाई एकतावद्ध बनेर अघि बढ्ने काममा सरकार दृढ रहेको उनले दाबी गरे। राष्ट्रिय हित र लोकतन्त्रको हितमा एक भएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ। प्रधानमन्त्रीले अब कुनै प्रकारको अलमलमा नपरी विगतका बलिदान सम्झेर गौरवपूर्ण रुपमा प्राप्त उपलब्धि रक्षा गर्न अघि बढ्नुपर्ने दिन आएको बताए।
उनले संघर्षमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे। ‘सानातिना मतभेद छोडेर बृहत् हितमा अघि बढौं। म सबैलाई आग्रह गर्छु ’ प्रधानमन्त्रीले भने ‘शान्तिपूर्ण राजनीतिमा आउन नसकेका कति पक्षलई आग्रह पनि गर्दछु।’
निर्वाचनको माध्यमबाट गठित सरकारले भर्खर तीन वर्ष पूरा भएको र चार दिनअघि सरकाले अहिलेसम्म गरेका उपलब्धि संक्षिप्तमा भनेको उल्लेख गरे।
‘हाम्रा उपलब्धि भनेर भ्याइँदैनथियो। तर, संक्षितमा भनेको छु’, उनले भने, ‘निर्वाचनपछि सुरुको वर्षलाई विकासको आधार वर्षको रुपमा र अर्को वर्ष प्रारम्भको रुपमा व्याख्या गरेका थियाैं। समृद्धिको आरम्भ वर्षको रुपमा व्याख्या गरेका थियौं। अहिले विकासका क्षेत्रमा सफलतातर्फको गति देखिने गरि प्रस्तुत गर्न सक्ने भएका छौं।’
उनले समाज विकास र परिर्वतनमा अगाडि बढेको दाबी गरे। ‘हामीले कठिन रुपमा बनाएको संविधानलाई कार्यान्वयन गर्दै लैजाने र विगतमा भएका शहीद परिबार,अङभङ्ग भएका नागरिक र सशस्त्र द्वन्द्वका लडाकुहरुलाई सम्बाेधन गर्नुपर्नेछ’, उनले भने, ‘अब साझा प्रयासहरु अघि बढाउनुपर्ने छ। यसका लागि हाम्रा विचारहरु राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ।’
विकास र जनताको आकांक्षा पूरा गर्नेतर्फ सरकार अघि बढेको प्रधामन्त्रीको दाबी छ। अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकाससिल राष्ट्र बन्नुपर्ने भएकाले सन् २०३० सम्म दिगो विकासका लागि शर्त पूरा गर्ने विश्वास लिइएको प्रधानमन्त्रीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।