काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध गरिरहेको आन्दोलनको समीक्षा गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन पठाइसकिएको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए।
'सबै केन्द्रीय सदस्यलाई बिहान ११ बजे उपस्थित हुन निर्देशन पठाइसकिएको छ। अध्यक्षद्वयको निर्देशनअुनसार बैठक बोलाइएको हो,' उनले भने। ११ बजे सुरु हुने बैठक सकिएपछि निर्वाचन आयोग घेराउको तयारी पनि रहेको बताइएको छ।
आन्दोलनको समीक्षा गर्न र निर्वाचन आयोगले अघि बढाएको निर्वाचनका कार्यक्रमबारे धारणा बनाउन बैठक बोलाइएको उक्त पक्षका एक नेताले जानकारी दिए।
प्रचण्ड-नेपाल पक्षका आन्दोलनका कार्यक्रम सुस्ताउन थालेपछि आन्दोलनको समीक्षा गर्न लागिएको बुझिएको छ। बिहीबार टुँडिखेल वरिपरि बनाइएको मानव साङ्लोमा अपेक्षाकृत कम नेता/कार्यकर्ताहरूको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।