काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए नेपाल अफनागिस्तानको अवस्थातिर जानसक्ने बताएका छन्। बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै फाल्न सक्ने बताए।
'अलिकति अदालतले बचाएन भने के हुन्छ यो देशमा? कस्तो अवस्था देशले व्यहोर्नुपर्छ? त्यसकारण हामीले अदालतलाई पनि किन खबरदारी नगर्ने?', उनले भने, 'मलाई विश्वास छ, संसद् पुनःस्थापना हुन्छ। संसद् पुनःस्थापना हुनै पर्छ। नभए, यो मुलुकमा बर्बादी हुन्छ। गृहयुद्धको स्थिति आउनसक्छ। अफनागिस्तानको अवस्थातिर नेपाल जानसक्छ। आज नेपाललाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको छ।'
पौडेलले सभापति शेरबहादुर देउवा र उनी पक्षधरले चुनावप्रति देखाएको आशक्तिप्रति असन्तुष्टि जनाउँदै संविधान र लोकतन्त्र बच्यो भने मात्रै चुनावको अर्थ हुने बताए। 'कांग्रेसले किन चुनाव-चुनाव भन्ने? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो। चुनाव भन्ने कुरा जहिले पनि होला। तर, संविधान बच्यो भने, लोकतन्त्र बच्यो भने तब चुनावको अर्थ हुन्छ', उनले भने।
उनले नेपालको आजको व्यवस्था भनेको संसद् र कार्यकारीको सर्वोच्चता नभई संवैधानिक सर्वोच्चताको व्यवस्था भएको प्रष्ट पारे। 'आज जे हुन्छ, संविधानको आधारमा हुन्छ। संविधानको अक्षर र भावनामा हुन्छ। संविधानमा जे लेखेको छ, त्यही कुरा हुने हो। अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही कुरा हुनुपर्छ। कांग्रेसले किन नभन्ने?', उनको प्रश्न थियो।
पौडेलले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्ने निर्णय गरिसकेको भए पनि नेताहरुले जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोल्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।