काठमाडौं- पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रदर्शन गरेको छ।
विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए। ‘मूल्य वृद्धि फिर्ता गर, महँगी बढाउन पाइँदैन, जनतामाथि ऋणको भार, यही हो तिम्रो समाजवाद’ लगायतका नारा लगाएका थिए।
काठमाडौंको प्रदर्शनी मार्गस्थित् रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले बालेको टायर प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो।
आन्दोलनरत विद्यार्थीहरूले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्य बढाएको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रूपैयाँ पुगेको छ। यस्तै, डिजेल ९७ रूपैयाँ, मट्टीतेल ९७ रूपैयाँ र हवाई इन्धन ६७ रूपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।