काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलको उपाधि विजेता टिम एपिएफले आफ्नो ११औँ खेलमा विराटनगर नगरपालिकालाई १-० ले हराएको छ। बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि एपिएफको उपाधि पक्का भएको थियो।
एपिएफको ११ खेलमा ३३ अंक रहेको छ। आर्मीको ११ खेलमा २६ अंक रहेको छ। यसैले बाँकी खेलअघि एपिएफ विजेता पक्का भएको हो। तेस्रो स्थानमा रहेको विराटनगरको १२ खेलमा १६ अंक रहेको छ। पुलिस क्लबको ११ खेलमा १५ अंक रहेको छ। वालिङको ११ खेलमा १४ अंक रहेको छ। चन्द्रपुरको ११ खेलमा ९ अंक छ। चौदण्डीगढले कुनै अंक जोड्न सकेको छैन।
बुधबार एन्फा कम्प्लेक्सको मैदानमा भएको विराटनगरविरुद्धको खेलमा एपिएफका लागि एक मात्र गोल खेलको ५५औँ मिनेटमा अनिता केसीले गरिन्। एपिएफले अहिलेसम्म खेलेका सबै खेल जितेको छ। अन्तिम खेलमा एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। लिगमा आर्मीको दोस्रो स्थान पक्का भइसकेको छ।
प्रतियोगितामा अब तीन खेल बाँकी छन्। बिहीबार वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ। यस्तै अन्तिम दिन शुक्रबार दुई खेल हुनेछन्। जसमा एन्फा कम्प्लेक्सको मैदानमा बिहान १० बजे चौदण्डीगढी र नेपाल पुलिस क्लब साथै दिउँसो २ बजे दशरथ रंगशालामा एपिएफ र त्रिभुवन आर्मी क्लब खेल्नेछन्। जुन खेलपछि एपिएफलाई उपाधि ट्रफी दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।