काठमाडौं– आज पनि बागमती प्रदेशको प्रदेश सभा बैठक स्थगित गरिएपछि नेकपाको प्रचण्ड–माधव पक्ष आक्रोशित बनेको छ। आफूमाथि दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने डरले मुख्यमन्त्री डोरमणि पौडेलले संसद छलिरहेको प्रचण्ड–माधव पक्षकी नेता अष्टलक्ष्मी शाक्यले बताइन्।
उनले सभामखु सानुकुमार श्रेष्ठ सरकारको लाचार छायाँ बनेको उनको टिप्पणी छ। सभामुख श्रेष्ठ फोन अफ गरेर बसेको उनको आरोप छ। ‘उहाँ (सभामुख) सम्पर्कमै आउन चाहानुहुन्न। फोन अफ गरेर बस्नुभएको छ। बालुवाटार र शितलनिवासबाट जे आदेश आउँछ त्यही मान्ने गर्नुभएको छ’ शाक्यले नेपाल लाइभसँग भनिन्।
उनले आज बैठक सञ्चालन गर्नेबारे सभामुख श्रेष्ठसँगै हिजै लामो छलफल भएको स्मरण गरिन्। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँसहित सभामुखसँग छलफल गरिएको शाक्यले बताइन्।
बानियाँले पनि सभामुखसँगको भेटमा अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्ने र यो विषयलाई छिटो टुंग्याउनुपर्ने भनेका थिए। ‘अघिल्लो पटक सूचना टाँस गरेर स्थगित गरियो, त्यो राम्रो भएन। यसपालि त्यस्तो गर्नुहुँदैन। बैठक बस्नुपर्छ। संसदलाई सँधै बन्द गरेर राख्न सकिन्न’, बानियाँको भनाई उदृत गर्दै शाक्यले भनिन्।
उनले सभामुख श्रेष्ठ संघीयताको भावनाविरीत अघि बढेको टिप्पणी गरिन्। ‘संघीयताको भावना र मर्मलाई सम्पूर्ण रूपले कुल्चिने काम भएको छ। सभामुख लाचार छायाँ बन्नुभएको छ। बालुवाटार र शितलनिवासको ‘एसम्यान’ बन्नुभएको छ’ शाक्यले भनिन्।
आज बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो। प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन्। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो।
यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर आजसम्मका लागि स्थगित गरिएको थियो। मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल सुरु गर्ने तयारी थियो।
नेकपाको प्रचण्ड–माधव पक्षका सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले बैठक बस्नुपर्ने भनेर दबाब दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।