काठमाडौं- आज बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ। बैठक सूचना टाँसेर स्थगित भएको हो।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन्। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो।
यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर आजसम्मका लागि स्थगित गरिएको थियो। मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल सुरु गर्ने तयारी थियो।
नेकपाको प्रचण्ड–माधव पक्षका सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले बैठक बस्नुपर्ने भनेर दबाब दिँदै आएका छन्। उनीहरूले सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्।
सभामुख सरकारको लाचार छायाँ बनेको भन्दै प्रचण्ड-माधव पक्षका सांसदहरूले प्रदेश सभा अगाडि धर्ना समेत दिएका थिए।
बागमती प्रदेशसभामा नेकपाका ८० प्रदेश सभा सदस्य छन्। यसमध्ये प्रचण्ड–माधव पक्षमा ४५ र ओली पक्षमा ३५ जना सांस्द छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।