काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिबद्धता पत्र ल्याउने भएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले आफ्ना पक्षमा जनमत बढाउन प्रतिबद्धता पत्र ल्याउने तयारी गरेको हो।
यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल समेत गठन भइसकेको छ। कार्यदलले प्रतिबद्धताको प्रारुपका विषयमा सामान्य छलफल गरेको कार्यदल सदस्य वेदुराम भुसालले बताए।
उनले प्रतिबद्धता पत्रमा आफूहरूले विगतमा जनतासामु गरेका प्रतिबद्धताको समीक्षा, पूरा हुन नसक्नुको कारण र आगामी दिनमा पूरा गर्ने आधार समावेश गरिने बताए।
उनले भने, ‘राजनीतिक र सैद्धान्तिक आधार के हुने, समाजवादमा कसरी अगाडि बढ्छौं, यदि हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्यो भने विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा कसरी काम गर्छ भन्ने विषय समेट्ने मोटामोटी छलफल भएको छ।’
कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, वर्षमान पुन, लीलामणि पोखरेल पनि सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।