काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा मंगलबारदेखि एमिकस क्युरीले राय दिँदै छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दामा सर्वोच्च बार र नेपाल बार एशोसियसनका तर्फबाट पाँच जना वरिष्ठ अधिवक्ताहरुले राय दिँदैछन्।
माघ ४ गते देखि सुरु भएको अन्तिम बहसमा निवेदक र विपक्षीहरूका तर्फबाट बहस समाप्त भएको छ। प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा १३ थान निवेदन विचाराधीन रहेका छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अनुमोदन गरेकी थिइन्।
हिउँदे अधिवेशन पुस १८ गते सुरु हुने केही दिन अघि सरकारले प्रतिनिधि सभा विघटन गरेको थियो। नेकपाभित्रको विवादका कारण ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै नेताहरु देव गुरुङसहित सर्वोच्च पुगेका थिए। सर्वोच्चले स्वतन्त्र राय दिनका लागि नेपाल बार र सर्वोच्चबारबाट एमिकस क्युरी मगाएको थियो।
सर्वोच्चको आदेशपछि नेपाल बार एशोसिएसनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिष्कृष्ण खरेल र विजयकान्त मैनालीको नाम एमिकस क्युरीको रुपमा पठाएको थियो। त्यस्तै, सर्वाेच्च बारले वरिष्ठ अविधक्ता पूर्णमान शाक्य र गीता संग्रौला पाठकको नाम पठाएको थियो। पाठक पहिलो पटक महिला एमिकसको रुपमा इजलासमा राय दिदैछिन्। उनीहरुको बहसपछि प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ समाप्त हुने छ। सर्वोच्चले बहस समाप्त भएको केही दिनमा फैसला सुनाउने छ।
के हो एमिकस क्युरी?
सर्वोच्च अदालतको संवैधानिक इजलाससम्बन्धी नियमावली अनुसार सर्वोच्चले कुनै पनि कानुन व्यवसायी वा विषयविज्ञलाई सुझावका लागि इजलासमा बोलाउनुलाई एमिकस क्यूरी भनिन्छ।
अदालतमा विचाराधीन मुद्दाको प्रकृति र गम्भीरताका आधारमा इजलासले सम्बन्धित विषयको ज्ञान र अनुभव भएका व्यक्तिलाई बोलाउन सक्ने प्रावधान छ।
संवैधानिक इजलाससम्बन्धी नियमावलीको परिच्छेद-५ मा एमिमकस क्युरीसम्बन्धी व्यवस्था छ। परिच्छेद-५ को उपनियम १ मा भनिएको छ, ‘आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी)को रूपमा झिकाई निजको राय लिन सक्नेछ।’
एमिकस क्युरीमा झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भई सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्ने नियमावलीको उपनियम २ मा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।