काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली देशैभर पञ्च र्याली निकालेर हिँडेको टिप्पणी गरेका छन्। गृह जिल्ला चितवन पुगेका प्रचण्डले ओलीलाई व्यंग्य गर्दै पहिलेका राजामहाराजाको जस्तै पञ्च र्याली निकालेर जमिन बाँड्छौ भन्दै हिँडेको बताए।
‘हामीले संविधान मिचिएकाविरुद्ध, लोकतन्त्रमा प्रहार भएकाविरुद्ध आन्दोलनमा गरिरहेका छौं’, प्रचण्डले भने, उहाँ (केपी ओली)ले पञ्च र्याली गर्ने, जमिन बाँड्छौ भनेर मान्छे उतार्ने गर्नु भएको छ। पहिला-पहिलाका राजामहाराजाको जस्तो गरेर हिँड्नु भएको छ। त्यसको कुनै अर्थ छैन। केही महत्व पनि छैन।’
आफूले सुरुदेखि नै ओलीले प्रतिगमन र प्रतिक्रान्तिको बाटो समाएदेखि हार्न थालेको प्रचण्डले बताए। ‘मैले सुरुदेखि भनेको छु। उहाँले जतिबेला प्रतिगमनको बाटो पर्किनुभयो। जतिबेला प्रतिक्रान्तिको बाटो पर्किनुभयो। उहाँ हारिसक्नु भएको छ। मतमा पनि हार्नु हुन्छ। उहाँले व्यवहारमा पनि हार्नुहुन्छ’ प्रचण्डले भने, ‘चुनाव हुँदैन भन्ने प्रष्ट भए हुन्छ। चुनाव गर्नका लागि गरिएको प्रतिगमन होइन।’
ओलीले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि धरापमा पारेको प्रचण्डले दाबी गरे। ‘आमनेपाली जनता र राम्रो दिमाग भएका मान्छेहरु उहाँ (केपी ओली)को कदमका विरुद्ध छन्’ उनले भने, ‘तपाईं हामी सबै मिलेर परास्त गर्नुपर्छ। त्यो राष्ट्र,जनता र लोकतन्त्रको हितमा हुने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।