काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको व्याख्या गरेर न्यायाधीशले फैसला गर्ने भएकाले संसद पुनर्स्थापना हुनैपर्ने धारणा राखेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सुनसरीमा गरेको विरोध सभामा उनले भने, ‘संविधानमा टेकेर फैसला गर्दा न्यायाधीशकासामू संसद पुनर्स्थापनाबाहेक अर्को विकल्प छैन।’
प्रधानमन्त्रीले अदालतलाई बुझाएको जवाफमा कहीँ पनि संविधानको व्यवस्था उल्लेख नगरेकाले संसद पुनर्वहाली हुनसक्ने अर्को आधार देखाए। बहुमतको आधारमा बनेको प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने संविधानको व्यवस्था पुन दोहोर्याए।
राज्यको ढुकुटी खर्च गरेर नेकपा ओली पक्षले गरेको शक्ति प्रदर्शनको कोइरालाले विरोध जनाए। उनले भने, ‘नारायणहिटीतिर पिठ्यूँ फर्काएर राजा महेन्द्रको शालिक फर्केर प्रधानमन्त्रीले जे बोलिरहनु भएको छ। उहाँले म बोलेको नै त्यही कानुन हो भनि देखाउन खोज्नुभएको छ।’
ओली नेकपा अपराधीलाई भर्ति गर्ने पार्टी बनेको उनले बताए। प्रहरीले खोजेर नभेटेका कालीबहादुर खामलाई बालुवाटारमा भेट्न सकिने कोइरालाको भनाइ छ।
सरकारले सामाजिक सञ्जालमा अकुंश लगाएर नागरिकका अधिकार कुन्ठित गराउने प्रयास गरेको कोइरालाले बताए। ओली पक्षले साइबर सेना लगाएर जनतालाई धम्क्याउने कार्य सुरु गरेको उनको आरोप छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा गुटको जस्तो गरी व्यवहार देखाइ पदको मर्यादा कायम गर्न नसकेको कोइरालाको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।