काठमाडौँ- बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल कार्यक्रम)मा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ।
बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको गुनासो गरेपछि १५ दिन म्याद थपिएको हो। अब कलमा आइडिया पठाउने अन्तिम मिति फागुन १५ गतेसम्म कायम भएको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए।
गत मङ्सीर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए। उत्पादन र सेवामूलक क्षेत्रमा सृजनात्मक रूपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेकाले अन्तिम पटक म्याद थप गरिएको प्रष्ट पारे।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त भएका आइडियामध्ये उत्कृष्ट आइडिया छनौट गरी निःशुल्क तालिम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने बताए। यस्तै उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवामा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको उल्लेख गरे।
प्रस्ताव पठाउन र यससम्बन्धी जानकारीका लागि स्टार्ट अप कल डट ओआरजी लगइन गरी आइडिया पठाउन सकिने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।