काठमाडौं- बलिउड कलाकार दिया मिर्जाले यो वर्ष आफ्ना सम्पूर्ण फ्यानहरुलाई सबैभन्दा ठूलो सप्राइज दिइन्। उनले १५ फेब्रुअरीमा व्यवसायी वैभव रेखीसँग बिहे गर्ने भएकी छन्।
दियाको बिहेको खबर अहिले बलिउडप्रेमी माझ चर्चित छ। यो खबरले उनका फ्यानहरु निकै उत्साहित बनिरहेका छन्। धेरै सुन्दर जोडी भन्दै सफल दाम्पत्य जीवनको शुभकामाना पनि दिइरहेका छन्।
पहिलो बिहे असफल भएपछि दोस्रो विवाह बन्धनमा बाँधिन लागेकी दियाको पहिलो प्रेम कथा पनि सबैले याद गरिरहेका छन्। दियाबारे चासो राख्ने सबैलाई थाहा छ, अहिले बिहे हुन लागेका वैभव भन्दा पहिले उनको जिन्दगीमा साहिल सांगा थिए। साहिलसँग १० वर्ष बिताएकी थिइन् दियाले। यी दुईले जिन्दगीका निकै रमाइला पलहरु सँगै बिताएका थिए।
भनिन्छ, सन् २००९ मा दिया मिर्जाको पहिलोपटक साहिलसँग भेट भएको थियो। साहिल र दियाको पहिलो भेटमा साहिल फिल्मको स्कृप्ट सुन्न गएका थिए। त्यही स्कृप्ट सुन्दा सुन्दै दुवैबीच विस्तारै सम्बन्ध अगाडि बढ्यो। दुवैको मनमा प्रेमको टुसा पलाएपनि मुखबाट भने ओकलेनन्।
फेरि पाँच वर्षपछि साहिलले दियाको अगाडि हिम्मत जुटाएर प्रेम प्रस्ताव राखे। उक्त प्रेम प्रस्ताव निकै फिल्मी पाराको थियो। साहिलले अमेरिकाको न्युयोर्कमा अवस्थित ब्रुकलिन ब्रिजमा प्रेम प्रस्ताव राखेका थिए।
पुलमा घुँडा टेकेर जिन्दगीभरको साथका लागि साहिलले दियाको हात मागेका थिए। दियाले पनि तुरुन्तै साहिलको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन्। प्रेम प्रस्ताव स्वीकार गरेकै वर्ष अक्टुवर २०१४ मा यी दुइले बिहे गरे। यी दुईको बिहेमा मिनी इन्डिया नै देखिएको थियो। किनभने, साहिल सिख समुदायका थिए अनि दिया हैदरावादी।
बिहेको केही वर्षमा नै यी दुईको सम्बन्ध बिग्रिएका समाचार बाहिर आउन थाले। बिहे अघि र पछि गरी ११ वर्षसम्म जेनतेन सम्बन्धमा बसे र सन् २०१९ मा सम्बन्धबिच्छेद गरे। सामाजिक सञ्जालमा दियाले अब साहिल र आफू सम्बन्धमा नरहेको घोषणा गरिन्।
त्यो समयको पोष्टमा दियाले लेखेकी थिइन्, ‘११ वर्षसम्म एकअर्काको साथमा रहेपछि हामीले आपसी सहमतिमा अलग हुने फैसला लियौं।’ उनीहरुले आउने दिनमा पनि साथीजस्तै जिन्दगी बिताउने र एक अर्काको सम्मान गर्ने बताएका थिए। सम्बन्ध विच्छेदको करिब २ वर्ष पुग्दा दियाले फेरि बिहे गर्न लागेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।