काठमाडौं- जिल्लामा क्रियाशील पत्रकारहरू देवराज सुवेदी र दुर्गा आचार्यलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। हुतराज अर्धचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशील दुई पत्रकारले पाएका हुन्।
इन्द्रेश्वरी मावि मेलम्चीको २७औं वार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार देवराज सुवेदी र दुर्गा आचार्यलाई पुरस्कार स्वरुप ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो। आचार्य इमेज खबरमा डेस्क एडिटर हुन् भने सुवेदी रासस तथा रेडियो मेलम्चीको स्टेसन म्यानेजर हुन्।
पुरस्कार ग्रहण गरिसकेपछि सुवेदीले सोही विद्यालयमा सञ्चालित बौद्धिक क्षमता विस्तार कक्षालाई १० हजार १ सय रुपैयाँ सहयोग गरेका थिए। आफूलाई पुरस्कार ग्रहण गर्दा अत्यन्तै खुशी लागेको भन्दै आफूले पाएको रकममा रेडियो मेलम्चीको तर्फबाट ५ हजार थप गरी सहयोग गर्न पाउँदा झनै खुशी लागेको सुवेदीले बताए।
कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठलाई लामो समय शिक्षण पेसामा रही काम गरेको भन्दै सम्मान गरिएको थियो। सोही अवसरमा विद्यालयको खेल प्रशिक्षक रही विद्यार्थीलाई अन्तर्राष्ट्रिय पदक जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खेल प्रशिक्षक राजनमान श्रेष्ठलाई समेत विद्यालयले सम्मान गरेको थियो।
शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ। यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन्। आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी (कक्षा १०) टपरहरूलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए। अहिले संस्थाले दृष्टिविहीन, अपांग, दलित र आर्थिक अवस्था न्यून भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।