बुटवल- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताएका छन्। बुटवलामा उनीपक्षीय नेकपाले आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको दाबी गरे।
'पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ,' उनेले भने।प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको र केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गरे।
पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गरे।
'तीन वर्ष पार्टी निस्प्रभावी भयो। गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ। अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भने, 'आन्दोलनले शुद्धीकरण खोजेको थियो। अहिले आफैँ महाशुद्धीकरण भएको छ।' -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।