काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले ‘अस्थिरता तर्फ देश नफर्काउने’ भन्दै अदालतमाथि दबाब सिर्जना गरेका छन्। शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले भने, ‘अदालतले देशलाई अस्थिरतातर्फ फर्काउने छैन।’
प्रतिनिधि सभा पुनःस्थापना गर्दा अस्थिरता सिर्जना हुने भन्दै उनले घटन नै सदर गर्न अदालतमाथि दबाब बढाउन खोजे। आफूले लोकतान्त्रिक प्रक्रियाबाट संविधानसम्मत प्रतिनिधि सभा विघटन गरेको दाबी दोहोर्याएका छन्।
उनले भने, ‘मैले बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गर्नुपर्यो। त्यो संविधानसम्मत छ। संविधानको धारा ७६ को उपधार १ अनुसारको सरकारको प्रधानमन्त्री भएकाले उपधारा ७ अनुसार विघटन गरेको हुँ। त्यो धारा ८५ अनुसार संवैधानिक छ। प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर विघटन गरिएको हो।’
उनले उल्टै नेकपा प्रचण्ड–माधव समूहले अदालतमाथि दबाब दिइरहेको आरोप लगाए। संसद् पुनःस्थापना गर्दा कुनै पार्टीको बहुमत नरहने उनको दाबी छ। त्यस्तो अवस्थामा सांसद् किनबेच, मोलतोल, अनुचित समिकरण लगायत हुने उनको भनाइ छ।
नेकपा प्रचण्ड–माधव समूहलाई जनतामाझ आएर लोकप्रियताको मापन गर्न ओलीले चुनौती दिएका छन्। ‘लोकप्रिय छौं भन्ने लागेको भए जनमतमा आउनुहोस्। मान्छे हेर भन्नुहुन्छ। मान्छे गनौंला । मतपत्रबाट गनौंला नि। कसको पक्षमा बहुमत हुन्छ, मतदानबाटै हेरौंला।’
उनले आफूले आगामी निर्वाचनमा प्रत्यक्षमा बहुमत आउने र समानुपातिकमा ५० लाख मत ल्याउने बताएका छन्। हिम्मत भए आफ्नो मत घटाएर देखाउन उनले प्रचण्ड-माधव पक्षलाई चुनौती दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।