काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बुटवलमा सभा गर्दैछ। ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’लाई प्रधानमन्त्रीले ओलीले सम्बोधन गर्नेछन्।
यसका लागि ओली आज बुटवल जाँदैछन्। सभालाई सम्बोधन गर्न ओली पक्षीय मन्त्रीहरू बुटवल पुगिसकेका छन्। अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट बुटवल पुगिसकेका छन्।
बुटवलस्थित् सिद्देश्वरी मैदानमा सभा हुने नेकपा, लुम्बिनी प्रदेश कमिटीले जनाएको छ। यसअघि बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा सभा गरिएको थियो। ८ गते विराटनगरमा सभा गर्ने नेकपा (ओली पक्ष)ले जनाएको छ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारूढ नेकपा राजनीतिक रुपमा विभाजित भएको छ।
एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। प्रचण्ड–माधव पक्षले यसअघि नै बुटवल र विराटनगरमा सभा गरिसकेको छ। यो समूहले पुस १४, माघ ९ र २८ गते काठमाडौंमा बृहत् प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।