काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाएपनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने आधिकारिक रुपमा नमनाउने भएको छ। प्रचण्ड–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध’ दिवस मनाउन सर्कुल गरिएको छ।
प्रचण्ड-माधव पक्षले पार्टी कार्यालय पेरिसडाँडामा शनिबार ९ बजे २६औं ‘जनयुद्ध’ दिवस मनाउने भएका छन्। ‘पार्टी कार्यालयमा हुने कार्यक्रमलाई सकेसम्म दुई अध्यक्षले सम्बोधन गर्ने भनिएको छ। ‘यदि माधव कमरेड उपत्यका बाहिरबाट फर्किन नभ्याए प्रचण्डले मात्रै सम्बोधन गर्नुहुन्छ’ पार्टी कार्यालयका सदस्य शिव खकुरेलले भने, ‘अरु सातै प्रदेश र ७७ जिल्लाहरुले आ–आफ्नो अनुकुलतामा ‘जनयुद्ध’ दिवस मनाउन निर्देशन दिइएको छ।’
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध गरेपछि हरेक वर्ष उत्सवको रुपमा मनाउँदै आएको थियो। तत्कालीन एमाले माओवादी एकतापछि जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाउँदै आएका थिए। पछिल्लो समय तत्कालीन माओवादी पक्षले औपचारिक रुपमा मात्रै फागुन १ मनाउँदै आएका छन्।
ओली पक्षले फागुन १ गते बुटवलमा आमसभाको आयोजना गरेका छन्। सभालाई ओलीसहित महासचिव विष्णु पौडेल, टोपबहादुर रायमाझी, मणि थापा लगायत नेताहरुले सम्बोधन गर्ने भएका छन्।
ओली पक्षका कार्यालय सचिव ईश्वरी रिजालले जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको नाममा त्यहीँ मनाइने दाबी गरे। अरु छुट्टै कार्यक्रम बनाएर ‘जनयुद्ध’ दिवस मनाउने कार्यक्रम नभएको रिजालले बताए। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने यसअघि देखि नै मनाउन छोडिसकेका छन्।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले छुट्टाछुट्टै रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन्। वैद्य नेतृत्वको माओवादीले ‘जनयुद्ध’ दिवस रत्नपार्कको शान्तिबाटीकामा मनाउने भएको छ। उक्त कार्यक्रमलाई वैद्यले सम्बोधन गर्ने भएका छन्। अरु प्रदेश र जिल्लामा आफ्नो अनुकुलतामा मनाउने सर्कुलर जारी गरेको छ। यस्तै, विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध भएकाले सार्वजनिक रुपमा नमनाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।