काठमाडौं- बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त शोभाकान्त ढकाल विशेष अदालत हाजिर भएका छन्।
उक्त जग्गाको मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल यसको अनुसन्धान सुरु भएपछि फरार भएका थिए। ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विचौलियको भूमिका निभाएका थिए। सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो।
ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए। ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए। ढकालले उक्त जग्गा राखेर आइएमइ इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थि।
त्यस्तै, सन्दिप ढकालको नामबाट यति विकास बैंबाट ४९ लाख रूपैया ऋण लिएका थिए। अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार विगो दाबी गरेको छ।
हालसम्म विशेषमा ६३ जना प्रतिवादी हाजिर भएका छन्। ४७ जना आरोपितहरू उपस्थित हुन बाँकी रहेका छन्। अदालत उपस्थित भएका मुख्य प्रतिवादी अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात पछि उनी नै हुन्। विशेषले उनको बयान सकेर अहिले थुनछेक बहस चलाइरहेको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशमा ढकालको मुद्दा रहेको छ।
मुद्दा दायर भएकामध्ये भिआइपी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको म्याद तामेल भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यीमध्ये पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो।
उक्त प्रकरणका अर्का मुख्य प्रतिवादी भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङ पनि अदालत उपस्थित भएर छुटेका छन्। उनलाई विशेषले २ करोड रूपैयाँ धरौटी माग गरेको थियो। उनी उक्त रकम बराबर बैंक ग्यारेन्टी राखेर माघ २१ गते छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।