पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पूर्वयोजना बिना नै कास्की जिल्ला अदालत पुगे। मुख्यमन्त्री गुरुङ मुद्दाको तारेख लिन वा बहस प्रतिवाद गर्न भने पुगेका होइनन्। उनी निरीक्षण भ्रमणका लागि जिल्ला अदालत पुगेका थिए।
भौतिक अवस्थाको रुपमा समस्याग्रस्त रहेको जिल्ला अदालतमा भ्रमण गरेर आगन्तुक पुस्तिकामा संक्षिप्त नोटसमेत लेखेका छन्। ‘जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको व्यवस्थापनमा यस अदालतको अवलोकन गर्ने अवसर मिलेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु,’ मुख्यमन्त्री गुरुङले नोटमा लेखेका छन्, ‘भौतिक पूर्वाधार र संरचनाको हिसाबले अन्यन्त समस्यामा रहेको पाइयो। व्यवस्थापकीय हिसाबले अत्यन्त पुराना र जीर्ण भई अभिलेख राख्न, न्याय सम्पादन गर्न, प्रशासनिक कार्य सम्पादन गर्न श्रोत साधनको अत्यन्त अभाव रहेको देखियो।’
मुख्यमन्त्री गुरुङले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा भएको विकासको प्रतिफल अदालतमा आउन नसकेको भन्दै राज्य सञ्चालन गर्ने जिम्मेवार पदाधिकारी र निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने देखिएको भनेका छन्।
जिल्ला अदालतको भौतिक व्यवस्थापनमा गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। यसरी सरकारको ध्यानाकर्षण गराउन सकेकोमा उनले धन्यवाद दिएका थिए।
अनुगमनका क्रममा उनले जनताको न्याय पाउने अन्तिम थलो अदालत भएकाले यसका लागि प्रदेश सरकार तयार रहेको उनले बताए। नयाँ भवन निर्माण, आन्तरिक व्यवस्थापन, नदी कटानलाई रोक्ने जस्ता गम्भीर समस्या समाधान गर्ने कुरामा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण भएको उनले बताए।
श्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने कुरा प्रतिबद्धता उनले व्यक्त गरेको जिल्ला अदालतले जनाएको छ। नेपाल सरकार र सम्बन्धित निकायले यस अदालतका समस्या समाधान गर्न पहलकदमी गर्ने र सहजीकरण गर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।