काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मानिसमा भ्रम रहे पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ नभएको बताएका छन्। आयोगको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले त्रासबाट मुक्त भएर काम गर्न आग्रह गरे।
उनले सरकार कुनै पनि निकायलाई स्वतन्त्र ढंगले काम गर्न दिन चाहने बताए। 'सरकारले कुनै हस्तक्षप गर्दैन। सरकारको तर्फबाट कुनै हस्तक्षेप हुँदैन', उनले भने, 'सबै निकायहरूलाई आग्रह गर्दछु, आफ्नो कर्तव्य स्वतन्त्र र निष्पक्ष ढंगले पूरा गर्नुस्। संविधान र कानूनलाई शिरमा राखेर, देश र जनतालाई शिरमा राखेर, सुशासन र विकासका अभियानलाई सफल पार्ने उद्देश्यलाई मनमा राखेर, ध्यानमा राखेर अगाडि बढ्नुस्।'
प्रधानमन्त्री ओलीले आफूहरू सबै निकायले स्वतन्त्र र निर्बाध ढंगले काम गर्न पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले भनसुन, दबाब, धम्की, त्रास, टाउकोको माया छ कि छैन भनेर भाषण गरेर धम्की दिने जस्ता कुराको कुनै अर्थ नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।