काठमाडौं- यो सातामा कारोबारको पहिलो २ दिन, आइतबार र सोमबार उछाल देखिएको पूँजीबजारमा मंगलबार भने उच्च अंकको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.०१ अंकले घटेर २५३२.४६ अंकमा कायम भएको छ।
मंगलबार १९४ वटा कम्पनीको १ करोड ५९ लाख ८५ हजार कित्ता सेयर ७१ हजार १ सय १२ पटक खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम आइतबार र सोमबार लगातार १० अर्बमाथि कटेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो।
आज विकास बैंक र वित्त समूह क्रमशः २५.५२ र १२.७२ अंकले बढेका छन् भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २७४.०३ अंकले घटेको छ। बैंकिङ समूह ९.४२, व्यापार समूह ४९.४९, होटल समूह ३२.८६, जलविद्युत समूह २९.७६ र निर्जीवन बीमा समूह २३७.१४ अंकले घटेको छ। त्यस्तै, उत्पादन समूह ९८.९४, लघुवित्त समूह १२८.२४ र अन्य समूह ३३.६८ अंकले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ करोड २३ लाख ८५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंकका ५ लाख १६ हजार ५ सय कित्ता सेयर खरिद बिक्री भएको छ।
त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.९२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.८२ प्रतिशतका दरले गुमाएका छन।
आज नेप्सेको सर्भरमा समस्या देखिएपछि सेयर कारोबार समय ३५ मिनेट थप गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।